Khabar Out
एआईको जोखिम व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय निगरानी ढाँचा बनाउन गुटेरेसको आह्वान

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को बढ्दो जोखिम व्यवस्थापन गर्न स्वतन्त्र र विश्वसनीय निगरानीसहितको अन्तर्राष्ट्रिय ढाँचा निर्माण गर्न आह्वान गरेका छन् ।

बार्बाडोसको राजधानी ब्रिजटाउनमा आयोजित एआई सुरक्षा सम्बन्धी विशेष शिखर सम्मेलनमा बोल्दै गुटेरेसले एआई प्रणालीको सुरक्षा मूल्याङ्कन तथा यसको सुरक्षित र जिम्मेवार प्रयोग सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका हुन् ।

उनले एआईले स्वास्थ्य, शिक्षा र वैज्ञानिक अनुसन्धानका क्षेत्रमा ठूलो सम्भावना बोकेको उल्लेख गर्दै यसको तीव्र विकाससँगै उत्पन्न भइरहेका जोखिमको सामना गर्न साझा अन्तर्राष्ट्रिय प्रयास आवश्यक रहेको बताए ।

संयुक्त राष्ट्रसङ्घ र बार्बाडोस सरकारले आयोजना गरेको सम्मेलनमा प्रधानमन्त्री मिया मोटलीसहित विभिन्न देशका सरकारी अधिकारी, प्रविधि कम्पनीका प्रतिनिधि, वैज्ञानिक, नागरिक समाजका सदस्य तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि सहभागी थिए ।

गुटेरेसले एआईका जोखिम पहिचान र उन्नत प्रणालीको निगरानी गर्ने विषयमा विभिन्न देशको क्षमता समान नरहेको उल्लेख गर्दै त्यसलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय सहकार्य अघि बढाउनुपर्ने बताए । उनले एआई प्रणालीको सुरक्षा परीक्षणका लागि साझा विधि विकास गर्ने, स्वतन्त्र निगरानी संयन्त्र बलियो बनाउने र अनुभव आदानप्रदान गर्ने आवश्यकतामा जोड दिए ।

एआई प्रविधिको सुरक्षित प्रयोगका लागि आवश्यक प्राविधिक तथा संस्थागत क्षमता नभएका देशलाई सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

सम्मेलनमा बार्बाडोसकी प्रधानमन्त्री मोटलीले एआई प्रणाली विकास गर्ने कम्पनीलाई त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित क्षतिप्रति जवाफदेही बनाउनुपर्ने बताइन् । एआई प्रणालीले व्यक्ति वा संस्थालाई जोखिममा पारेको अवस्थामा सरकारले आवश्यक हस्तक्षेप गर्न सक्ने अधिकार सुरक्षित राख्नुपर्नेमा पनि उनले जोड दिइन् ।

सम्मेलनको मुख्य उद्देश्य एआईका जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समन्वय बढाउनु र साझा नियम निर्माणका उपायबारे छलफल गर्नु रहेको थियो । एआईको सम्भावनालाई मानवहितमा उपयोग गर्दै यसबाट उत्पन्न हुन सक्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्ने विषयमा पनि सम्मेलन केन्द्रित रहेको थियो । रासस

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  २१:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update