Khabar Out
नर्सलाई यसकारण आवश्यक छ अङकोलोजी नर्सिङ तालिम

चितवन । क्यान्सरका बिरामी बढ्दै गएकाले समयमै रोग पहिचान र उपचारका लागि नर्सहरूलाई अङ्कोलोजी नर्सिङ तालिम आवश्यक रहेका विज्ञहरूले जोड दिएका छन् ।

अङ्कोलोजी नर्सिङ अध्ययन एवं तालिम गरेकाहरूले समयमै क्यान्सर पहिचान र उपचारका लागि आवश्यक सुझाव दिन सहज हुने गर्दछ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष प्रा डा योगेन्द्रप्रसाद सिंह क्यान्सरका बिरामीको गुणस्तरीय उपचार र हेरचाहका लागि अङ्कोलोजी नर्सिङको दायरा फराकिलो बनाउनुपर्ने बताउछन् । उनले भने, “चिकित्सक विभिन्न विधामा विशेषज्ञ बन्दै गएको अवस्थामा नर्सलाई विशेष विषयमा दक्ष बताउनुपर्छ ।”

क्यान्सर उपचारमा नर्सको भूमिका अझ प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ छ । हाल क्यान्सर अस्पतालको नर्सिङ कलेजमा अङ्कोलोजी नर्सिङसम्बन्धी अध्ययन तथा तालिम हुँदै आएको भए पनि त्यसलाई अस्पतालमा मात्र सीमित नराखी देशव्यापी बनाउनुपर्ने उनको भनाइ छ।

उनले क्यान्सरको हेरचाह यहाँ मात्रै नभएर काठमाडौँ, पोखरा, विराटनगरलगायत देशका धेरै भागमा आवश्यक रहेको बताए । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले क्यान्सर रोगको उपचार र बिरामीको हेरचाहलाई थप प्रभावकारी बनाउन देशभरका नर्सलाई अङ्कोलोजी नर्सिङ तालिम आवश्यक रहेको बताए । तालिम उपलब्ध गराउन सकिए समयमा रोगको पहिचान र उपचारमा सहज हुने उनको भनाइ छ ।

क्यान्सर अस्पतालको नर्सिङ क्याम्पस प्रमुख लक्ष्मी न्यौपानेले चिकित्सकको विशेषज्ञता विस्तार हुँदै गएसँगै नर्सिङ क्षेत्रमा पनि विषयगत विशेषज्ञता विकास गर्नुपर्ने र त्यसको नेतृत्व बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले गर्नुपर्ने बताउछन् ।

क्यान्सर अस्पतालमा भारतका सीमावर्ती क्षेत्रबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन् । यस अस्पतालले देशकै क्यान्सर उपचारको नेतृत्व गर्दै आएको छ । रासस

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update