Khabar Out
सामाजिक समस्यासँग जुधिरहेकी पार्वतीले नागरिकता पाएपछि ...

झापा । श्रीमान्को मृत्युपछि आर्थिक तथा सामाजिक समस्यासँग जुधिरहेकस् शिवसताक्षी नगरपालिका–८ की पार्वती ऋषिदेवका लागि नेपाली नागरिकता प्राप्ति नयाँ आशा बनेको छ ।

नागरिकता नहुँदा राज्यको सामाजिक सुरक्षा सुविधाबाट वञ्चित रहेकी  उनले अब एकल महिला भत्ता पाउने भएकी छन् । श्रीमान् शंकर ऋषिदेवको मृत्युपछि पार्वतीको जीवन थप कष्टकर बनेको थियो । आर्थिक अवस्था कमजोर हुनुका साथै नागरिकता नहुँदा उनी सरकारी सेवा सुविधाको पहुँचबाट बाहिर रहेकी थिइन् । दैनिक जीवनयापनका आधारभूत आवश्यकता पूरा गर्न कठिनाइ भोग्दै आएकी थिइन ।

नागरिकता प्राप्तिपछि खुसी हुँदै पार्वतिले भनिन्, “नागरिकता नहुँदा धेरै समस्या थियो । अहिले नागरिकता बनेको छ, भत्ता पनि पाउने भएँ । मोबाइलसमेत पाएकी छु । अब घर पनि बनाइदिने भन्नुभएको छ, यसले मलाई धेरै खुसी लागेको छ ।”

उनको अवस्थाबारे जानकारी पाएपछि शिवसताक्षी नगरपालिका–८का वडाध्यक्ष सन्तकुमार फेउदिनले नागरिकता बनाउन पहल गरेका थिए । उनकै पहलमा पार्वतीले शत्रबार वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गरेकी हुन् । त्यसपछि वडा कार्यालयले एकल महिला सामाजिक सुरक्षा परिचयपत्र बनाइदिएको छ । अब उनले चालु आर्थिक वर्षको कात्तिकदेखि मासिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछिन् ।

वडा सचिव पुष्पलाल पाण्डेले सामाजिक सुरक्षा परिचयपत्र उनकै घरमा पुर्‍याइदिएका छन् । कार्यालयसम्म पुगेर सेवा लिन कठिन हुन सक्ने अवस्थालाई ध्यानमा राखेर घरमै परिचयपत्र पुर्‍याइएको उनले बताए ।

नागरिकता र सामाजिक सुरक्षा भत्ताको पहुँच खुले पनि पार्वतीको समस्या पूर्ण रूपमा समाधान भएको छैन । सुरक्षित आवास नभएकी उनका लागि आगामी मङ्सिरदेखि घर निर्माण गरिदिने प्रतिबद्धता वडाध्यक्ष फेउदिनले जनाएका छन् ।

“नागरिकता, सामाजिक सुरक्षा र मोबाइल फोनको व्यवस्था गरेपछि पनि पार्वतीको समस्या पूर्ण रूपमा समाधान भएको छैन । उनलाई सुरक्षित रूपमा बस्न मिल्ने घरको आवश्यकता छ । त्यसैले मङ्सिरदेखि घर निर्माणको काम अघि बढाउने योजना बनाएको छु,” उनले भने ।

वडाध्यक्ष फेउदिनले आफ्नो वडाका आर्थिक रूपमा विपन्न, अपाङ्गता भएका तथा उपचार र दैनिक जीवनयापनमा समस्या भोगिरहेका नागरिकलाई व्यक्तिगत पहलमा सहयोग गर्दै आएको बताए । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update