Khabar Out
अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत

चितवन । चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको छ । चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेपछि नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको हो ।

यसअघि ६ कात्तिकमा काठमाडौँमा बसेको बैठकले तय गरेको मूल्यलाई छ दिनपछि नै परिमार्जन गर्दै सङ्घले बिहीबार पोखरामा बसेको बैठकबाट अण्डाको नयाँ समर्थन मूल्य तोकेको सङ्घका अध्यक्ष विनोद पोखरेलले बताए । नयाँ समर्थन मूल्यअनुसार एक्सएल, ठूलो र मिडियम अन्डाको मूल्य प्रतिपेटी (कार्टुन) रु दुई सय बढेको छ भने सानो अण्डाको मूल्य प्रतिपेटी रु एक सय वृद्धि भएको छ ।

अध्यक्ष पोखरेलले ६ कात्तिकमा रु तीन हजार ७०० रहेको १४.५ देखि १४.८ किलोको एक्सएल अण्डाको समर्थन मूल्य अब रु तीन हजार ९०० पुगेको छ । १३.५ देखि १३.८ किलोको ठूलो अण्डाको समर्थन मूल्य रु तीन हजार ६०० बाट बढेर रु तीन हजार ८०० पुगेको छ । १२.५ देखि १२.८ किलोको मिडियम अण्डाको समर्थन मूल्य रु तीन हजार ५०० बाट बढेर रु तीन हजार ७०० पुगेको अध्यक्ष पोखरेलले जानकारी दिए ।

एघार किलोभन्दा माथिको सानो अण्डाको समर्थन मूल्य भने रु तीन हजार १०० बाट बढेर रु तीन हजार २०० पुगेको छ । उपभोक्ता मूल्य ठूलो अण्डा प्रतिगोटा रु २५ र मिडियम अण्डाप्रति दुई वटाको रु ४५ कायम गरिएको छ ।

फार्म मूल्य प्रतिपेटी रु २०० बढे पनि उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा भने कुनै परिवर्तन नगरिएको उनले बताए । पर्वहरुसँगै चिसो सुरु भएपछि बजारमा खपत बढेका कारण होलसेल मूल्य बढाइएको उनले बताए । रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update