Khabar Out
घोडेपानी–पुनहिल पर्यटकको रोजाइमा

म्याग्दी । पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन थाल्छ । कोही क्यामेरा तेर्स्याउँछन्, कोही मोबाइलमा दृश्य कैद गर्न व्यस्त हुन्छन् । चराहरूको चिरबिरसँगै विस्तारै खुल्दै जान्छन् हिमाल । सूर्यको पहिलो किरण हिउँचुचुरामा पर्दा सेता हिमशृङ्खला सुनौलो रङमा चम्किन्छन् । प्रकृतिको यही अनुपम दृश्यले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ ।

मनसुन सकिएपछि खुलेको नीलो आकाश, लहरै देखिने हिमाल र चिसो मौसमसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिलमा पर्यटकको चहलपहल बढेको छ । दसैँतिहारको बिदा मनाउन र प्रकृतिसँग रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा यो गन्तव्य पर्न थालेको हो ।

दसैँअघि सुनसान बनेको घोडेपानी पुनहिलमा पछिल्ला दिनमा पाहुनाको आगमन बढ्न थालेको घोडेपानीका होटल व्यवसायीसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमरबहादुर पुनले बताए ।

“विपद्का कारण असोज महिनामा सुनसान भएको थियो”, उनले भने, “कात्तिक महिनाको सुरुआतसँगै दैनिक २०० जना विदेशी र ५० जनाको हाराहारीमा नेपाली पर्यटक आएका छन् ।”

पोखराबाट घुम्न आएका सन्तोष बरालले घोडेपानी–पुनहिलको प्राकृतिक सौन्दर्यले मोहित बनाएको बताए । सहरको व्यस्त दैनिकीबाट केही समय टाढा रहेर हिमाल, वनजङ्गल र शान्त वातावरणमा रमाउन पाएको उनले बताए । चाडपर्वको बिदालाई घुमफिर र नयाँ अनुभवका लागि उपयोग गर्ने चलन बढेको छ ।

समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल घोडेपानीको प्रमुख आकर्षण हो । यहाँबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि, गुर्जा, मानापाथी, माछापुच्छ्रे, मनास्लु र बराह शिखरलगायत १५ भन्दा बढी हिमाली टाकुराको अवलोकन गर्न सकिन्छ । मौसम खुलेका बेला टाढाटाढासम्म फैलिएका हिमशृङ्खला आँखैअघि उभिएझैँ देखिने स्थानीय व्यवसायी सुरेश पुनले बताए ।

सूर्योदयसँगै सूर्यास्त र हिमाली दृश्यावलोकनका लागि पनि पर्यटक यहाँ पुग्ने गर्छन् । बिहान पुनहिलमा सूर्योदय हेरेपछि पर्यटक घोडेपानी फर्केर आसपासका वनजङ्गल, गाउँबस्ती र प्राकृतिक सम्पदाको अवलोकन गर्छन् । शान्त वातावरण र हरियालीले यात्राको थकान बिर्साउन सहयोग गर्ने पोखराकी रोजी श्रेष्ठले बताइन् ।

“बिहान हिमालमा उदाउने सूर्य, दिनभरि देखिने हिमशृङ्खला र प्रकृतिको शान्त वातावरणले लोभ्यायो”, उनले भनिन्, “प्रकृति प्रेमीहरूका लागि घोडेपानी–पुनहिललाई चाडपर्वको बिदा मनाउने र छोटो पदयात्रा गर्ने पर्यटकको लागि उपयुक्त छ ।”

घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजा पुनका अनुसार पर्यटकको आगमन बढेसँगै होटल व्यवसायी व्यस्त भएका छन् । घोडेपानीमा दैनिक एक हजार जना बास बस्न सक्ने २५ वटा सुविधायुक्त होटलहरू छन् । चाडपर्वको बिदा र अनुकूल मौसमका कारण आगामी दिनमा पर्यटक अझै बढ्ने अपेक्षा गरिएको होटल व्यवसायी पुनले बताए ।

पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी–पुनहिल छोटो अवधिको पदयात्राका लागि पनि लोकप्रिय छ । पोखराबाट कास्कीको नयाँपुल हुँदै उल्लेरीको बाटो पदयात्रा गरेर यहाँ पुग्न सकिन्छ । म्याग्दीको पोखरेबगर, घार र शिख हुँदै सडकमार्गबाट पनि घोडेपानी पुग्न सकिन्छ । घोडेपानीबाट करिब आधा घण्टाको पैदल यात्रापछि पुनहिल पुगिन्छ ।

पर्यटक पथप्रदर्शक सुन्दर बन्जाराका अनुसार यहाँको मुख्य आकर्षण हिमाली दृश्य र सूर्योदय हो । अनुकूल मौसममा एकै स्थानबाट धेरै हिमालको अवलोकन गर्न पाइने भएकाले पर्यटक घोडेपानी–पुनहिलप्रति आकर्षित हुने गरेका छन् ।

घोडेपानी र पुनहिलको पर्यटन इतिहास पनि रोचक छ । कुनै समय स्थानीय किसानको चरन क्षेत्र रहेको लुङटुङ डाँडा अहिले पुनहिलका नामले विश्व पर्यटन बजारमा परिचित छ । भारतीय सेनाबाट सेवा निवृत्त स्वर्गीय मेजर टेकबहादुर पुनले यस डाँडाको नामकरण गरी पर्यटन विकासको जग बसालेको स्थानीय व्यवसायी बताउँछन् । उनको स्मृतिमा पुनहिलमा दृश्यावलोकनस्थलसमेत निर्माण गरिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा समेटिएपछि यस क्षेत्रको प्रचारप्रसारले अन्तरराष्ट्रियस्तरमा विस्तार पाएको हो । प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, जैविक विविधता र स्थानीय संस्कृति यहाँका थप आकर्षण हुन् ।

पछिल्लो समय विभिन्न क्षेत्रमा आएको बाढीपहिरोले नेपालको पर्यटन क्षेत्रमा असर पारेको भए पनि घोडेपानी–पुनहिल, घान्द्रुक र अन्नपूर्ण आधार शिविर क्षेत्रमा प्रत्यक्ष असर नपरेको पर्यटन व्यवसायीले बताएका छन् । विपदबाट प्रभावित क्षेत्रका कारण समग्र नेपालको पर्यटन असुरक्षित रहेको सन्देश जान नदिन सुरक्षित गन्तव्यको वास्तविक अवस्था प्रचारप्रसार गर्नुपर्ने उनीहरूको भनाइ छ । रासस

 

प्रकाशित मिति: आइतबार, कात्तिक ८, २०८३  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update