बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–८ गडखेतका लालबहादुर ऐडीले तरकारी खेती गर्न थालेको दशक पुग्न लाग्यो।
सुरुमा सामान्य परम्परागत खेती गर्दै आएका ऐडीले व्यावसायिक रूपमा तरकारी खेती सुरु गरेपछि हाल उनको दैनिकी बारीको हेरचाह, उत्पादन र बिक्रीमा बित्ने गरेको छ।
सदरमुकाम मार्तडी नजिकै गडखेतका लालबहादुर हरेक दिन बिहानदेखि साँझसम्म तरकारी बारीमै व्यस्त हुन्छन्। उनले हाल करिब १२ रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका तरकारी उत्पादन गर्दै आएका छन्। सुरुमा तरकारी खेतीबाट राम्रो आम्दानी हुन्छ भन्ने विश्वास कम रहेको उनी बताउँछन्। गाउँघरमा परम्परागत रूपमा अन्नबाली लगाउने चलन रहेकाले व्यावसायिक खेतीतर्फ किसानको खासै आकर्षण नभएकोमा अहिले आफूले उत्पादन गरेको तरकारीबाट आम्दानी हुन थालेपछि अन्य किसान पनि आकर्षित भएको उनको भनाइ छ।
- सहरबाट फर्किएर गाउँमै उद्यम
लालबहादुर विसं २०७५ मा बाजुराबाट सङ्घीय राजधानी काठमाडौँ गएका थिए। नेपाली सेनामा कार्यरत उनकी साली पुनम रावलले तरकारी खेती गर्न काठमाडौँ आउन आग्रह गरेपछि लालबहादुरले पाँच वर्ष त्यतै व्यावसायिक तरकारी खेती गरे।
‘तीन रोपनी क्षेत्रफलमा १५ वटा टनेलमा तरकारी खेती गरिरहेको थिएँ। त्यहाँ बजारको कुनै समस्या थिएन, बारीमै बिक्री हुन्थ्यो,’ ऐडी भन्छन्, ‘त्यो बेचेर वार्षिक सात लाखभन्दा बढी आम्दानी हुन्थ्यो। दुईवटा गाई थिए, दिनमा ३५ लिटर दूध बेच्थेँ, राम्रो थियो।’
काठमाडौँमा सेवासुविधा र बजारको सहजता भए पनि आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने सोचले उनी पुनः गाउँ फर्किए। गाउँ फर्किएपछि व्यावसायिक खेती गर्ने सोचका साथ उनले हिमाल बहुउद्देश्यीय कृषि फार्म दर्ता गरे। केही आफ्नै जग्गा र केही भाडामा लिएर उनले गोलभेँडा, लौका, काँक्रो, प्याज, काउली, बोडीलगायत विभिन्न किसिमका तरकारी लगाएका छन्।
- वार्षिक १५ लाखको तरकारी बिक्री
व्यावसायिक खेतीमा जमेका लालबहादुरको बारीबाट वार्षिक १५ लाख रुपैयाँ बराबरको तरकारी बिक्री हुने गरेको छ। उत्पादित तरकारी सदरमुकाम मार्तडी र बाम्कालगायतका बजारमा बिक्री गर्ने गरेको उनले बताएका छन्। उत्पादन भएको तरकारी घरमै आएर खरिद गर्ने व्यापारीदेखि स्थानीय बजारसम्म पुग्ने गरेको छ।
उनको बारीमा सबैभन्दा बढी गोलभेँडा छ। दैनिक ५० किलोसम्म बिक्री हुने गरेको उनी बताउँछन्। सबै तरकारी बिक्रीबाट वार्षिक रूपमा आठ लाख रुपैयाँ बचत हुने गरेको उनले सुनाए। परम्परागत रूपमा अन्नबाली उत्पादन गर्दै आएका ऐडीले त्यसबाट हुने आम्दानीको तुलनामा तरकारी खेतीबाट राम्रो आम्दानी भएको बताए। थोरै क्षेत्रफलमा मेहनत र लगानी गर्न सके तरकारीबाट छोटो समयमै आम्दानी लिन सकिनेमा उनी ढुक छन्।
‘यसमा काम धेरै छ, तर मेहनत गरेअनुसार आम्दानी पनि हुन्छ,’ उनी भन्छन्, ‘आफ्नै जमिनमा परिवारका सदस्य मिलेर काम गर्न सकिने भएकाले बाहिर गएर रोजगारी खोज्नुपर्ने बाध्यता हुँदैन।’
- गाउँभरि फैलियो तरकारी खेती
गडखेतमा ३५ परिवार बसोबास गर्दै आएका छन्। तीमध्ये हाल २५ परिवार व्यावसायिक तरकारी खेतीमा लागेका छन्। उनीहरूको मुख्य आम्दानीको स्रोत नै तरकारी बन्न थालेको छ। ऐडीले सुरु गरेको व्यावसायिक खेती अहिले उनको व्यक्तिगत व्यवसायमा मात्रै सीमित छैन। उनको सफलताबाट प्रभावित भएर गाउँका अन्य किसानले पनि त्यसलाई अनुसरण गरेका छन्। यसले गाउँमा तरकारी उत्पादनको क्षेत्र विस्तार हुनाका साथै किसानको आयआर्जनको स्रोत बढाएको छ।
लालबहादुर काठमाडौँबाट गाउँ फर्किएर व्यावसायिक तरकारी खेती गर्ने गाउँकै पहिलो व्यक्ति थिए। निर्वाहमुखी रूपमा सबैले उत्पादन गरे पनि व्यावसायिक रूपमा खेती गर्ने कोही थिएनन्। जब उनले व्यावसायिक खेती गरेर राम्रो आम्दानी गर्न थाले, त्यसपछि गाउँका धेरैजसो बारीमा टनेल देखिन थालेका छन्। ‘सुरुमा मैले मात्रै तरकारी खेती गरेको थिएँ,’ ऐडी भन्छन्, ‘तरकारी बिक्री गरेर राम्रो आम्दानी हुन थालेपछि गाउँका अरू किसानले पनि यसबाट राम्रो आम्दानी हुने रहेछ भन्ने ठानेर सुरु गर्नुभयो। यो मेरा लागि गौरवको विषय हो।’
एक जनाबाट सुरु भएको व्यावसायिक खेती विस्तार हुँदै गएपछि अहिले गाउँको पहिचान नै बदलिएको छ। खेतबारीमा देखिने टनेल, दैनिक बजार जाने तरकारीका भारी र त्यसबाट भइरहेको आम्दानीले गडखेतलाई तरकारीको पकेट क्षेत्रका रूपमा चिनाउँदै लगेको छ।
‘मेरो दैनिक तीन भारीसम्म हुन्छ, अरूले एक-दुई भारी बजार पठाएकै हुन्छन्,’ लालबहादुर भन्छन्, ‘गाउँका सबै खुसी छन्। सीप सिकेर खान पायौँ, बिक्री गर्न पायौँ भनेर धन्यवाद दिइरहेका छन्।’ गाउँका किसानलाई तरकारी खेतीतर्फ आकर्षित गर्न ऐडीले आफ्नो अनुभव पनि बाँड्दै आएका छन्। कुन समयमा कुन तरकारी लगाउने, कसरी खेत तयार गर्ने, उत्पादन बढाउन के कुरामा ध्यान दिने लगायतका विषयमा आफूले जानेका कुरा अरू किसानलाई बताउने गरेको उनले सुनाए।
- रोजगारी र आम्दानीको आधार तरकारी खेती
तरकारी खेती लालबहादुरका लागि केवल आम्दानीको माध्यम मात्रै बनेको छैन, परिवारको रोजगारीको आधार बनेको छ। वर्षभरि खेतबारीमा काम गर्नुपर्ने भएकाले परिवारका सदस्यलाई कामको अवसर मिलेको छ। विदेश वा सहरमा रोजगारी खोज्नुभन्दा आफ्नै गाउँमा व्यावसायिक कृषि गर्न सके आम्दानीको राम्रो स्रोत बनाउन सकिने उनको बुझाइ छ।
आगामी दिनमा उत्पादन अझै बढाउने योजना रहेको उनले सुनाए। बजारको मागअनुसार उत्पादन विस्तार गर्ने र आधुनिक प्रविधिको प्रयोग गर्ने उनको सोच छ। उनलाई विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको साथ मिलेको छ। कृषि ज्ञान केन्द्र बाजुराले उनलाई अनुदानमा वार्षिक टनेल तथा बीउ उपलब्ध गराउँदै आएको छ।
- ‘तरकारीमा आत्मनिर्भर बन्ने बाटोमा छ बाजुरा’
कृषि ज्ञान केन्द्रका अनुसार बाजुरा अझै तरकारीमा पूर्ण रूपमा आत्मनिर्भर हुन सकेको छैन। अन्य समयको तुलनामा बेमौसमी सिजनमा बाहिरबाट जिल्लामा तरकारी आयात हुने गरेको छ। मौसमी सिजनमा भने बाजुराबाट बाहिर निर्यात हुने गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रेमराज न्यौपानेले बताएका छन्।
‘मुख्य गरी पुस-माघ चिसो महिनामा बाहिरबाट तरकारी भित्रिने गरेको छ,’ न्यौपाने भन्छन्, ‘अन्य समयमा भने निर्यात हुने गरेको छ। अब बिस्तारै बाजुरा तरकारीमा आत्मनिर्भर बन्दैछ।’ जिल्लाका नौवटै स्थानीय तहका विभिन्न स्थानमा व्यावसायिक खेती भएकाले विगतको तुलनामा आयात क्रमशः घट्दै गएको न्यौपानेले बताए।
उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा ५० लाख ७२ हजार २६७ मेट्रिक टन तरकारी उत्पादन भएको थियो। गत आर्थिक वर्षको तथ्याङ्क सङ्कलन भइरहेको जानकारी दिँदै उनले उत्पादन अझै बढ्ने अनुमान गरिएको बताएका छन् । रासस






