चितवन । चितवनको खैरहनी नगरपालिका क्षेत्रमा बर्खे धानमा पातको फेद डढुवा (शीथ ब्लाइट) रोग देखिन थालेपछि किसान चिन्तित बनेका छन् ।
नगरपालिकाका कृषि अधिकृत सिर्जना श्रेष्ठका अनुसार नगरपालिकाका केही क्षेत्रमा धानको पातको फेदमा फेद डढुवा रोगका प्रारम्भिक लक्षण देखिन थालेका छन् । अहिले रोग धेरै फैलिएको अवस्था नरहे पनि फाट्टफुट्ट रूपमा देखिन थालेकाले किसानलाई बेलैमा सचेत भएर धानबालीको नियमित निरीक्षण गर्न आग्रह गरिएको उनले बताए ।
“अहिले फेद डढुवा धेरै फैलिएको अवस्था छैन । केही ठाउँमा छिटफुट रूपमा देखिएको जानकारी आएको छ । हामीले खेतमै पुगेर यसको अवस्थाबारे रिपोर्टिङ गरिरहेका छौँ”, कृषि अधिकृत श्रेष्ठले भने । फेद डढुवा राइजोक्टोनिया सोलानी नामक ढुसीका कारण लाग्ने गर्दछ । रोग लागेमा सुरुमा पातको फेदमा अन्डाकार खैरो–हरियो थोप्ला देखिने र प्रकोप बढ्दै गएपछि ती थोप्ला फैलिँदै गई सिङ्गो बोट नै डढेको जस्तो देखिने उनले जानकारी दिए ।
उनका अनुसार रोग माटोबाट समेत सर्ने भएकाले धान रोप्नुअघि नगरपालिकाबाट अनुदानमा उपलब्ध हुने जैविक विषादी प्रयोग गरी माटो उपचार गर्न सकिन्छ । बीउ उपचार गर्दा कार्बेन्डाजिम दुई ग्राम प्रतिकिलो बीउका दरले प्रयोग गर्न उनले सुझाव दिए ।
धान बाक्लो रोप्न नहुने, युरिया मलमात्र बढी प्रयोग नगरी सन्तुलित रूपमा मलखाद प्रयोग गर्नुपर्ने उनको भनाइ छ । सुरुआती अवस्थामै रोगको पहिचान गरी व्यवस्थापन गर्न सके प्रकोप फैलिनबाट रोक्न सकिने उनले बताए ।
रोगको जोखिम बढेमा एजोक्सिस्ट्रोबिन १८.२ प्रतिशत र डाइफेनोकोनाजोल ११.४ प्रतिशतको मिश्रण एक मिलीलिटर प्रतिलिटर पानीका दरले वा भ्यालिडामाइसिन तीन मिलीलिटर प्रतिलिटर पानीका दरले मिसाएर छर्कन सकिने कृषि शाखाले जनाएको छ ।
खैरहनीमा बर्खे धानको खेती राम्रो हुने भएकाले अहिले धानमा बाला निस्कने समय सुरु भएको छ । फेद डढुवा रोग हरेक वर्ष धानबालीमा देखिने गरेकाले यस वर्ष पनि समयमै सावधानी अपनाउन किसानलाई आग्रह गरिएको हो ।
यसैगरी, धानबालीमा मरुवा (ब्लास्ट) रोगको जोखिमसमेत रहेकाले किसानलाई फेद डढुवा र मरुवा दुवै रोगको नियमित निगरानी गर्न कृषि शाखाले आग्रह गरेको छ । यस वर्ष चैते धानमा मरुवा रोगका कारण क्षति भएकाले बर्खे धानमा समयमै सावधानी अपनाउनुपर्ने कृषि अधिकृत श्रेष्ठले बताए ।
खैरहनी नगरपालिकामा बर्खे धान तीन हजार ९३९ हेक्टर क्षेत्रफलमा खेती गरिँदै आएको छ । धानखेतीका लागि अनुकूल क्षेत्र मानिने खैरहनीमा अहिले धानमा बाला निस्कने समय भएकाले रोगको जोखिमसमेत बढ्ने गर्दछ । रासस







