Khabar Out
राष्ट्रिय बाणिज्य बैकले प्रहरी कर्मचारीलाई बिना धितो ५० लाखसम्म कर्जा दिने

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकबाट सहुलियत ब्याजदरमा विभिन्न प्रकारका कर्जा सुविधा पाउने भएका छन् । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच तलबी बचत खाता सञ्चालन तथा कर्जा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै यस्तो सुविधा उपलब्ध हुने भएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले समझदारीपत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका थिए । यसअघि बैंकले विगत १० वर्षदेखि नेपाल प्रहरीमा कार्यरत कर्मचारीहरूको तलबी खाता सञ्चालन गर्दै आएको थियो । उक्त सम्झौताको अवधि सकिएपछि सेवा निरन्तरता दिने उद्देश्यले नयाँ समझदारी गरिएको हो ।

समझदारीअनुसार तलबी बचत खाता सञ्चालनसँगै बिना धितो ‘पेशाकर्मी सरल कर्जा’, पेन्सन वितरण तथा अवकाश प्राप्त प्रहरी कर्मचारी र उनीहरूका आश्रित परिवारका लागि कर्जा तथा अन्य बैंकिङ सुविधा उपलब्ध हुनेछन् । सम्झौता पाँच वर्षका लागि नवीकरण गरिएको छ ।

नयाँ व्यवस्थाअनुसार पेशाकर्मी सरल कर्जातर्फ अधिकतम १५ लाख रुपैयाँसम्म र पेन्सनर कर्जातर्फ ५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ । यस्तै, बहालवाला प्रहरी कर्मचारी तथा अवकाश प्राप्त, अमररशहिद र अशक्त प्रहरी कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकमै पेन्सन खाता सञ्चालन गरेको अवस्थामा नेपाल राष्ट्र बैंकका निर्देशन तथा बैंकको उपभोक्ता कर्जा निर्देशिकाअनुसार अधिकतम ५० लाख रुपैयाँसम्म घर कर्जा लिन सक्नेछन् । घर कर्जाको अवधि अधिकतम २० वर्षसम्म रहनेछ।

त्यसैगरी, सवारी साधन खरिदका लागि ७ देखि १० वर्षसम्मको अवधिमा गाडी कर्जा उपलब्ध हुने व्यवस्था गरिएको छ । सम्झौतामा घर कर्जामा १ प्रतिशत, गाडी कर्जामा १।७५ प्रतिशत तथा शैक्षिक कर्जामा १ प्रतिशत प्रिमियम ब्याजदर कायम हुने उल्लेख छ ।

समझदारीले प्रहरी कर्मचारीको दुर्घटना बीमालाई समेत समेटेको छ । दुर्घटनाका कारण प्रहरी कर्मचारीको मृत्यु वा पूर्ण अपाङ्गता भएमा ५ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुने व्यवस्था गरिएको छ । दुर्घटनामा परी उपचार आवश्यक पर्ने खातावाला प्रहरी कर्मचारीलाई बीमा प्राधिकरणबाट जारी निर्देशिकाअनुसार अस्पतालमा बसाइ तथा उपचार खर्चको क्षतिपूर्तिलगायतका सुविधा उपलब्ध गराइनेछ । यस्तो बीमाका लागि प्रतिव्यक्ति १०० रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सम्झौताका लागि राष्ट्रिय वाणिज्य बैंकलाई धन्यवाद दिँदै यसबाट अहोरात्र खटिने प्रहरी कर्मचारीलाई थप उत्प्रेरणा र हौसला मिल्ने विश्वास व्यक्त गरे । उनले अवकाश प्राप्त, अमर तथा अशक्त प्रहरी कर्मचारी र आश्रित परिवारले समेत सरल तथा सुलभ कर्जा र अन्य बैंकिङ सुविधा प्राप्त गर्ने बताए । आगामी दिनमा नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच थप सहकार्य र समन्वय हुने अपेक्षा पनि उनले व्यक्त गरे ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले नेपाल प्रहरी र बैंकबीच विभिन्न चरणमा सहकार्य हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग, सहकार्य र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

समझदारीले प्रहरी कर्मचारीको तलबी खाता, कर्जा, पेन्सन, आवास, सवारी तथा शैक्षिक आवश्यकतासँगै दुर्घटना बीमासम्बन्धी सुविधा एउटै बैंकिङ सेवामार्फत उपलब्ध गराउने आधार तयार गरेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  २२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update