गण्डकी । पर्यटन प्रवर्द्धनका लागि पोखरामा नियमित हाइकिङ कार्यक्रम सञ्चालन हुँदै आएको छ । हाइकर्स क्लब नेपालको अगुवाइमा पोखरा आसपासका विभिन्न गन्तव्यमा हाइकिङ गर्ने गरिएको छ । यसैबिच क्लबले हाइकिङ कार्यक्रमको ७३औँ शृङ्खला पूरा गरेको छ । यस पटक पोखरा महानगरपालिका–१३ को काहुँखोलाबाट आर्वा गाउँ, महाप्रभु धाम हुँदै विजयपुर पोखरी गाउँसम्म हाइकिङ गरिएको हो ।
हाइकिङमा सहभागीहरूले आर्वा र विजयपुरको ग्रामीण परिवेश, जीवनशैली, प्राकृतिक सौन्दर्य र धार्मिकस्थलहरूको अवलोकन गरेका थिए । व्यायामसँगै पर्यटन प्रवर्द्धन, प्रकृतिप्रेम र आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले नियमित रूपमा हाइकिङ कार्यक्रम सञ्चालन गर्दै आएको हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाटले बताए । हाइकिङका क्रममा ग्रामीण क्षेत्रका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको अवलोकन र प्रचारप्रसार गर्ने गरिएको उनको भनाइ छ ।
सामूहिक रूपमा गरिने हाइकिङ कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउन प्रेरणा दिने गरेको छ । क्लबले विगत सात वर्षदेखि हरेक महिनाको अन्तिम शनिबार हाइकिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाइकिङ कार्यक्रमले नयाँ गन्तव्यस्थलको पहिचान तथा प्रवर्द्धनका साथै पदयात्राप्रति आकर्षण बढाएको क्लबका अध्यक्ष रानाभाटले बताए । रासस







