काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा घर भई ललितपुर महानगरपालिका–१ बस्ने ४३ वर्षीय हर्षनारायण चौधरी, म्याग्दी घर भई काठमाडौँ महानगरपालिका–३२ बस्ने ४१ वर्षीय पदमबहादुर खड्का क्षेत्री र सप्तरी घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने ४८ वर्षीय शिवनारायण चौधरी रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेकामध्ये हर्षनारायण चौधरीले इजरायल पठाइदिने भन्दै रु पाँच लाख, पदमबहादुर खड्का क्षेत्रीले अमेरिका पठाइदिने भन्दै रु तीन लाख १० हजार तथा शिवनारायण चौधरीले अजरबैजान पठाइदिने भन्दै रु २२ लाख ४६ हजार रकम लिएको पीडितको आरोप छ ।
विदेश पठाइदिने भन्दै रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितहरूले दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।
वैदेशिक रोजगारीका नाममा आकर्षक तलब र सहज रूपमा विदेश पठाइदिने प्रलोभन देखाएर ठगीका घटना बढ्दै गएकाले सम्बन्धित निकायले वैदेशिक रोजगारसम्बन्धी कारोबार गर्दा म्यानपावर कम्पनी तथा व्यक्तिको आधिकारिकता जाँच गर्न आग्रह गर्दै आएको छ ।







