Khabar Out
वर्तमान सरकारलाई शशांक कोइरालाले दिए सामान्य ‘कामचलाउ’को संज्ञा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले आफू पार्टी विभाजनका पक्षमा नरहेको स्पष्ट पारेका छन् । शनिबार (साउन ३०) काठमाडौंमा कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग उनले नयाँ पार्टी खोल्नका निम्ति यो आयोजना नगरिएको बताए ।

समय–समयमा पार्टी र विचारलाई परिमार्जन गर्दै लैजान यस्ता भेला आवश्यक हुनेमा उनले जोड दिए । उनले आफू नयाँ पार्टी खोल्ने पक्षमा नरहेको बताए । अदालतबाट आफूहरूका विपक्षमा निर्णय आए पनि सबै मिलेर छलफल गरी अगाडिको नीति तय गरिने उनको भनाइ थियो ।

“मलाई लाग्छ, विपक्षमा (सर्वोच्च अदालतको फैसला) आउने सम्भावना कम छ, आयो भने त्यसपछि सोचौँला, छलफल गरेर निर्णय गर्छौं,” उनले भने, “तर, अर्को पार्टी खोल्ने म त्यसको पक्षमा बिल्कुलै छैन ।”

उनले पार्टीको आउँदो महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा हुने जिकिर गरे । यदि, परिस्थिति आफूहरूले सोचेअनुरूप नभएमा थप छलफल गरेर आवश्यक निर्णय लिइने उनले बताए ।

नेता कोइरालाले बहुमत भए तापनि वर्तमान सरकारले कुनै ठोस, नयाँ वा उल्लेखनीय काम गर्न नसकेको टिप्पणी गरे । वर्तमान सरकारलाई उनले सामान्य ‘कामचलाउ’को संज्ञा दिए ।

“मलाई लाग्छ, यो साधारण सरकार हो । हुनत बहुमत छ उनीहरूको, तर ठोस कुनै राम्रो काम गरेको त मलाई लाग्दैन,” नेता कोइरालाले भने, “नयाँ कुनै नीतिहरू ल्याएका त छैनन् उनीहरूले । खालि यो कामचलाउ सरकार भनौँ न ।” 

उनले वर्तमान सरकार पाँच वर्ष टिक्ने वा बीचमै मध्यावधि चुनावमा जाने सम्भावनालाई राजनीतिमा नकार्न नसकिने धारणा राखे । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update