Khabar Out
राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

काठमाडौँ । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासिकसम्म रु चार अर्ब ५५ करोड ६८ लाख खुद मुनाफा आर्जन गरेको छ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद मुनाफा ६०.६८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद मुनाफा रु दुई अर्ब ८३ करोड ६० लाख थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालका अनुसार कर्जा लगानी र आम्दानीमा भएको उत्साहजनक वृद्धि तथा सम्भावित जोखिमका लागि छुट्याइएको इम्पेयरमेन्ट चार्ज घटेका कारण खुद मुनाफा बढेको हो ।

आर्थिक वर्ष २०८२/८३ मा बैंकको खुद ब्याज आम्दानी रु ११ अर्ब ९६ करोड ६१ लाख पुगेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १७.८५ प्रतिशतले बढी हो । त्यसैगरी बैंकको कूल सञ्चालन आम्दानी रु १३ अर्ब १८ करोड ५५ लाखबाट १४.१९ प्रतिशतले बढेर रु १५ अर्ब पाँच करोड ६६ लाख पुगेको प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिए ।

बैंकको खुद सञ्चालन नाफा (करअघिको) रु तीन अर्ब ९४ करोड २० लाखबाट ६४.२६ प्रतिशतले बढेर रु छ अर्ब ४७ करोड ५३ लाख पुगेको छ । आर्थिक वर्ष २०८१/८२ मा वितरणयोग्य मुनाफा नरहेकोमा आर्थिक वर्ष २०८२/८३ मा रु एक अर्ब सात करोड ६९ लाख वितरणयोग्य मुनाफा रहेको छ ।

गत असार मसान्तसम्म बैंकको कूल समग्र आम्दानी रु तीन अर्ब ९० करोड ८९ लाख रहेको छ । प्रमुख कार्यकारी अधिकृत खनालका अनुसार सोही अवधिमा बैंकको कूल निक्षेप रु छ खर्ब ८६ अर्ब १३ करोड तथा खुद कर्जा तथा सापट रु तीन खर्ब ४० अर्ब ३३ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेप ३७.११ प्रतिशत र कर्जा तथा सापट १२.५० प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय वाणिज्य बैंकको २०८३ असार मसान्तसम्म पुँजी कोष अनुपात ११.४० प्रतिशत, कर्जा तथा निक्षेप अनुपात ५०.८७ प्रतिशत र असारको आधारदर ४.२० प्रतिशत रहेको छ । बैंकको त्रैमासिक औसत आधार दर ४.२२ प्रतिशत रहेको छ ।

बैंकको निष्क्रिय कर्जा अनुपात (NPA) ३.९५ प्रतिशत, ब्याजदर अन्तर (Spread Rate) ३.३७ प्रतिशत, कोषको लागत दर (Cost of Fund) २.९६ प्रतिशत तथा प्रतिसेयर आम्दानी रु २९.१४ रहेको छ ।

हाल उक्त बैंकले देशका सातै प्रदेशका ७७ वटै जिल्लाबाट वित्तीय सेवा प्रवाह गरिरहेको छ । ग्रामीणदेखि सहरी क्षेत्रसम्म फैलिएको बैंकका ३१६ वटा शाखा कार्यालय, ३३५ वटा एटिएम तथा एक लाख ४८ हजार क्यूआर मर्चेन्ट सञ्चालनमा रहेको प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिए ।

उनका अनुसार बैंकले २० लाख ६२ हजार मोबाइल बैंकिङ प्रयोगकर्तासहित कूल ४८ लाख ७० हजार ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । समयसापेक्ष ग्राहकको माग बमोजिम परिष्कृत सेवा दिइरहेको बैंक सबैभन्दा बढी सरकारी कारोबार गर्ने र सबैभन्दा बढी क्यूआर मर्चेन्ट कारोबार गर्ने बैंकका रूपमा राष्ट्रियस्तरमा पुरस्कृतसमेत भइसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  २२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update