Khabar Out
अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिम पटक १५ दिन थप

काठमाडौँ । काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केवलका तार व्यवस्थापनका लागि तोकिएको समयसीमाभित्र काम पूरा गर्न नसकेपछि इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले अन्तिमपटक १५ दिनको थप समय मागेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयमा आज बसेको सरोकारवाला निकायहरूको बैठकमा आइस्पानले काम सम्पन्न गर्न थप समय आवश्यक रहेको जनाएको हो। बैठकमा सूचना तथा सञ्चार मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, आइस्पान तथा अन्य सम्बन्धित निकायका प्रतिनिधिको सहभागिता थियो ।

बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अव्यवस्थित तार व्यवस्थापनको प्रगति, कार्यान्वयनका क्रममा उत्पन्न समस्या र तिनको समाधानका उपाय सुझाउँदै तोकिएको समयभित्र काम सम्पन्न गर्न निर्देशन दिए । उनले वास्तविक समस्या समाधान गर्न सरकार तत्पर रहेको दोहोर्याउँदै परिणाम देखिनेगरी काम गर्न निर्देशन दिए ।

सञ्चारमन्त्री तिमिल्सिनाले भने, “तार व्यवस्थापनलाई सरकारले निष्कर्षमा पु्र्याएरै छाड्छ । काम गर्दै जाँदा केही समय लाग्न सक्छ तर अब समय लम्ब्याउन सकिँदैन ।” उनले काममा देखिएका समस्या र समाधानका लागि सरकारले गर्नुपर्ने विषयबारे समयमै जानकारी गराउन पनि आइस्पानलाई आग्रह गरे ।

उनले अव्यवस्थित तार व्यवस्थापन सेवा प्रदायकहरूको कानुनी तथा व्यावसायिक दायित्व भएको स्पष्ट पार्दै विगतमै यो काम भएको भए अहिलेको अवस्था सिर्जना नहुने बताए । दीर्घकालीन समाधानका लागि एउटै पूर्वाधार विभिन्न सेवा प्रदायकले साझा रूपमा प्रयोग गर्न सक्ने व्यवस्थाबारे अध्ययन गर्न पनि उनले निर्देशन दिए ।

सञ्चारमन्त्री तिमिल्सिनाले सेवा प्रदायक र नियामक दुवै निकायको कार्यसम्पादन प्रति असन्तुष्टि जनाउँदै तोकिएको समयमा काम सम्पन्न नहुनु आइस्पान र नियामक नेपाल दूरसञ्चार प्राधिकरण दुवैको असफलता भएको उल्लेख गरे । उनले सरकारले समस्या समाधानमा सहयोग गर्ने तर काम नगर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे ।

उनले भने, “आइस्पानले फेरि १५ दिनको समय मागेको छ । यसअघि साउन १५ गतेभित्र काम सक्ने प्रतिबद्धता गर्नुभएको थियो । अब मागिएको अवधिमा काम सम्पन्न हुने विश्वसनीय आधार चाहिन्छ ।”

बैठकमा आइस्पानका प्रमुख कार्यकारी अधिकृत सुभास खड्काले काठमाडौँ उपत्यकामा पहिलो चरणअन्तर्गत निर्धारण गरिएका छ वटा रुटमध्ये हालसम्म करिब ५८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । उनका अनुसार उपत्यकासँगै देशका अन्य स्थानमा पनि तार व्यवस्थापनको काम भइरहेको छ । उनले समस्याको दीर्घकालीन समाधानका लागि छुट्टै पूर्वाधार कम्पनी स्थापना आवश्यक रहेको धारणा व्यक्त गरे।

आइस्पानले नेपाल विद्युत् प्राधिकरणले विद्युत्का लाइन भूमिगत गर्दा इन्टरनेट तथा केवल सेवाका तार व्यवस्थापनका लागि पर्याप्त पूर्वाधार निर्माण नभएको विषय पनि उठाएको थियो। कलङ्की–थानकोट, चाबहिल–बौद्धलगायत क्षेत्रमा पाइलट परियोजनाका रूपमा सेवा प्रदायक आफैँले भूमिगत इन्टरनेट तार विस्तार गरिरहेको जानकारी दिँदै आइस्पानले जनशक्ति थप्ने तयारी भइरहेको जनाएको छ।

आइस्पानले नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणबाट आवश्यक जनशक्ति फिल्डमा नखटिने, प्रहरीले कामदारलाई रोक्ने, ट्राफिक प्रहरीले भर्याङ हटाइदिने तथा दक्ष जनशक्तिको अभाव भएको जनाएको छ । अब उपलब्ध जनशक्तिलाई एउटै क्षेत्रमा केन्द्रित गरेर काम चाँडो सम्पन्न गर्ने रणनीति अपनाइने पनि आइस्पानले जानकारी दिएको छ ।

गत असार ३१ गते सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको संयुक्त उपस्थितिमा भएको उच्चस्तरीय अन्तरनिकाय बैठकमा आइस्पानले पहिलो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका छ वटा क्षेत्रमा साउन १५ गतेभित्र अव्यवस्थित तार व्यवस्थापन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो ।

बैठकले नेपाल दूरसञ्चार प्राधिकरणलाई नेतृत्वदायी तथा नियामकीय भूमिका निर्वाह गर्ने, सबै सेवा प्रदायकले आफ्ना तारमा स्पष्ट पहिचान खुल्ने ट्याग अनिवार्य राख्ने, सम्बन्धित निकायबीच नियमित समन्वय गर्ने तथा प्रगतिको निरन्तर समीक्षा गर्ने निर्णय गरेको थियो ।

पहिलो चरणमा त्रिपुरेश्वर–कालिमाटी–कलङ्की, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुशी–टाउन प्लानिङ–गोङ्गबु, कीर्तिपुर क्षेत्र तथा पुरानो बानेश्वर–गौशाला–चाबहिल गरी ६ वटा स्थानमा अव्यवस्थित तार व्यवस्थापन गर्ने लक्ष्य छ । रासस

 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update