काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय भाइचारालाई कमजोर बनाउने कुनै पनि गतिविधिप्रति सचेत रहन सबै नागरिकलाई आग्रह गरेका छन् ।
शुक्रबार जारी सन्देशमा आईजीपी कार्कीले नेपाल विविध धर्म, भाषा, जातजाति र संस्कृतिको साझा फूलबारी भएको उल्लेख गर्दै यही विविधताबीचको एकताले मुलुकको पहिचान र शक्ति निर्माण गरेको बताएका छन् ।
उनले फरक–फरक धर्म, संस्कार र सांस्कृतिक परम्परा भए पनि नेपालीहरूको साझा भावना र राष्ट्रियता एउटै रहेको उल्लेख गर्दै एकअर्काको आस्था तथा संस्कृतिप्रति सम्मानभाव राख्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
आईजीपी कार्कीले सामाजिक सञ्जालमार्फत फैलाइने अफवाह, भड्काउ अभिव्यक्ति तथा कानुनविपरीत गतिविधिले समाजमा अविश्वास र विभाजन निम्त्याउने चेतावनी दिएका छन् । यस्ता कार्यले सामाजिक सद्भावमा नकारात्मक असर पार्ने भएकाले जिम्मेवार र संयमित व्यवहार गर्न उनले सबैलाई आग्रह गरेका छन् ।
पूर्वी तराईका केही क्षेत्रमा पछिल्लो समय धार्मिक सहिष्णुतामा असर पुग्ने तथा सर्वसाधारणमा डर र त्रासको वातावरण सिर्जना गर्ने गतिविधि देखिएको उल्लेख गर्दै उनले त्यसप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।
‘अफवाह र उत्तेजनाले समस्या समाधान गर्दैन, बरु समाजलाई थप विभाजित बनाउँछ,’ सन्देशमार्फत उनले भनेका छन्, ‘यस्तो संवेदनशील अवस्थामा विवेक, सहिष्णुता र सद्भावलाई प्राथमिकता दिन आवश्यक छ ।’
प्रहरी प्रमुख कार्कीले सामाजिक सद्भाव, राष्ट्रिय एकता र आपसी भाइचारा जोगाउन सबै नागरिकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै संयमता र जिम्मेवारीका साथ अघि बढ्न अपिल गरेका छन् ।







