Khabar Out
पहिरो र बाढीले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । 

नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी बेलुका ६ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

कान्तिलोकपथमा पनि बेलुका ५ देखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

इलाम नगरपालिका–९ मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ । 

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गका जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्डमा सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि उक्त सडक पनि अवरुद्ध भएको छ । 

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित पासाङ ल्हामु सडकखण्डमा त्रिशूली नदीले कटान गरेकाले उक्त सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

ललितपुरको बागमती गाउँपालिका–३ कान्तिलोकपथमा सुक्खा पहिरो खसेकाले सो सडक पनि पूर्ण रूपमा बन्द भएको छ । 

इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोला नजिक पहिरो खस्दा भीमफेदी–कुलेखानी–काठमाडौँ सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । 

नेपाल प्रहरीका अनुसार जाजरकोट–डोल्पा सडकअन्तर्गत मूलपानीखोला बाढीले सडक कटान गर्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । 

बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र रघुगंगा गाउँपालिका–२ मा आज बिहान खरेको पहिरोले यो सडक पनि बन्द भएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update