Khabar Out
क्यान्सर अस्पतालमा ‘केमो’ लगाउने बिरामीको उच्च चाप

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शय्या र जनशक्तिका अभाव भएपछि क्यान्सरका कोषिका मार्ने महत्त्वपूर्ण औषधि केमो लगाउन बिरामीलाई पाँचदिनसम्म पालो पर्खनुपर्ने अवस्था आएको छ ।

अस्पतालमा दैनिक करिब ३०० बिरामी केमोका लागि सेवा लिन आउने भए पनि करिब २०० लाई मात्र केमो दिन सकिएको छ । एक सय ५० शय्या केमोका लागि छुट्याइएको छ । केही बिरामीलाई केमो दिएपछि छोटो समयमा घर पठाउन सकिने भएकाले त्यही शय्यामा अर्को बिरामीलाई केमो दिने गरिएको छ ।

अस्पतालका मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण साहका अनुसार तोकिएका समयमा नै केमो दिँदा प्रभावकारी हुन्छ । उनले भने, “बिरामीको उच्च चापका कारण समयमा केमो दिन सकिएको छैन, यसले उपचारमा प्रभावकारिता घट्छ ।”

बिरामीले पाँच दिनसम्म पालो कुर्नुपरेको उनी बताउँछन् । उनले भने, “प्रादेशिक अस्पतालहरूमा केमो दिने व्यवस्था गर्नुपर्छ, नभए यहाँको अस्पतालमा शय्या र जनशक्ति थप्नुपर्छ ।” बिरामीको चाप बढ्दै जाने र अस्पतालले शय्या र जनशक्ति नथप्दा चाहेर पनि आएका सबै बिरामीलाई केमो दिन नसकिएको उनी बताउँछन् । अस्पतालले केमो चढाएको एक पटकको रु ५०० शुल्क लिने गरेको छ । केमो खरिद अस्पतालको फार्मेसीमा छुट्टै गर्नुपर्छ । बिरामीको रोगको प्रकृति र औषधि उत्पादक कम्पनीअनुसार केमोको मूल्य रु १०० देखि लाखौँसम्म पर्ने उनको भनाइ छ ।

अस्पतालमा बिरामीलाई सामान्यतया दुई हप्ताको फरकमा १२ पटक र तीन हप्ताको फरकमा छपटकसम्म केमो दिने गरिन्छ । कतिपय बिरामीको तीन वर्षसम्म पनि केमो लगाउनुपर्ने हुन्छ । केमो लगाउनका लागि नेपालभर र भारतीय सीमा क्षेत्रबाट पनि यहाँ बिरामी आउने गर्छन् । लामो समय पालो कुर्नु परेपछि यहाँ आएका बिरामी निजी अस्पतालमा जान बाध्य हुने गरेका छन् ।

चितवन मेडिकल कलेज (सिएमसी)को भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटले सरकारी क्यान्सर अस्पतालकै शुल्कमा केमोलगायतका क्यान्सर उपचार सेवा दिने गरेको छ । बाहिरी जिल्ला जानुभन्दा भरतपुर आएका बिरामी यस इन्स्टिच्युटमा जाने गरेका छन् । चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले अन्य अस्पतालमा लामो पालो कुर्नुपरेका बिरामीसमेत यस इन्स्टिच्युटमा आउने गरेको बताए । उनले भने, “हामीले सरकारी अस्पतालको शुल्कमा सेवा प्रवाह गर्ने कुरा धेरैलाई थाहा नभएकाले थाहा पाउनेहरू आएका छन् ।”

इन्स्टिच्युटले पछिल्लो समय बिरामीको सङ्ख्या बढ्दै गएको जनाएको छ । जिल्लाका केही निजी अस्पतालहरूले मापदण्ड पूरा नगरी केमो दिने गरेको गुनासो छ । केही बिरामी यहाँ सरकारीमा पालो नपाएपछि भारत, काठमाडौँलगायतका ठाउँमा समेत जाने गरेका बताइएको छ । रासस

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update