काठमाडाैँ। सान फ्रान्सिस्को पूर्व जेल र पर्यटनस्थल अल्काट्राज नजिकै १९ जना सवार डुङ्गा डुब्दा एक व्यक्तिको मृत्यु हुनुका साथै दुई जना बेपत्ता भएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
बेपत्ता व्यक्तिहरूको खोजी गर्न अमेरिकी तटरक्षकको साथमा स्थानीय अग्नि नियन्त्रक तथा प्रहरी टोलीहरूद्वारा सञ्चालित हेलिकप्टर, विमान र उद्धार डुङ्गाहरू तैनाथ गरिएको जनाइएको छ।
सान फ्रान्सिस्कोका मेयरले इन्स्टाग्राम पोष्ट गरेको भिडियोमा अल्काट्राज टापुबाट ६०० गज टाढा “डुङ्गामा आगो लागेको“ देखाइएको छ भने उद्धारकर्ताहरूले प्रतिक्रियात्मक कार्यहरु भईरहेको जनाइएको छ।
सान फ्रान्सिस्को फायर डिपार्टमेन्टका लेफ्टिनेन्ट एलियास मारियानोलाई उदृत गर्दै एएफपीलने अझै बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धार जारी रहेको जनाएको छ।
क्यलिफोर्नियाको स्टकटनको निजी स्वामित्वमा रहेको केबिन क्रुजर मोटरबोट डुङ्गा दुर्घटनामा परेको मारियानोले बताए।
उद्धारकर्ताहरू घटना स्थलमा पुग्दा एक जना व्यक्ति पानीमा डुबेर गम्भीर घाइते अवस्थामा फेला परेको भएको लस एन्जलस टाइम्सले जनाएको छ भने अधिकारीहरूले बाँकी १६ यात्रुहरूलाई जिवितै उद्धार गरिएको पुष्टि गरेका छन्।
स्थानीय टेलिभिजन स्टेसनहरूले सान फ्रान्सिस्को खाडीमा डुब्ने डुङ्गाको अन्तिम क्षणहरूको फुटेज प्रसारण गरेका छन् । रासस







