Khabar Out
जयन्तीमा मात्रै बौरिन्छ आदिकविको जन्मथलो

तनहुँ ।  असार महिना लागेपछि तनहुँको चुँदीरम्घामा चहलपहल ह्वात्तै बढ्छ। आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती नजिकिँदै जाँदा जन्मस्थलमा सरसफाइ र रङरोगन गरिन्छ भने विभिन्न सांस्कृतिक तथा साहित्यिक कार्यक्रमको तयारी सुरु हुन्छ। 

यस अवसरमा साहित्यकार, विद्यार्थी, राजनीतिक नेतृत्व र सर्वसाधारणको आवतजावत बढे पनि जयन्ती सकिएपछि यो ठाउँ फेरि सुनसान बन्छ। वर्षभरि नै नेपाली भाषाका महाकवि जन्मिएको यो पवित्र स्थल ओझेलमा पर्ने गरेको छ।

नेपाली भाषा र साहित्यलाई जनस्तरसम्म पुऱ्याउने आदिकवि भानुभक्त आचार्यको जन्मथलो भानु नगरपालिका–४ चुँदीरम्घा हरेक वर्ष असार २९ गतेको वरिपरि मात्रै चर्चामा आउने गरेको छ। बाँकी समय भने यो ऐतिहासिक स्थल अपेक्षाकृत सुनसान रहने स्थानीयको गुनासो छ। 

स्थानीय सन्देश आचार्यले भानुभक्तको नामले देशभर सम्मान गरिए पनि उनको जन्मस्थलले अझै पनि अपेक्षित प्राथमिकता पाउन नसकेको बताए। जयन्तीका बेला सबै आएर भाषण गर्ने र योजना सुनाउने गरे पनि कार्यक्रम सकिएपछि फेरि सबै हराउने उनको भनाइ छ। 

भानु जयन्तीका अवसरमा विभिन्न साहित्यिक गोष्ठी, कविता वाचन र सांस्कृतिक कार्यक्रम आयोजना गरिँदा जन्मथलो केही दिनका लागि मात्रै जीवन्त बन्ने तर स्थायी रूपमा पर्यटन र साहित्यिक गतिविधि सञ्चालन हुन नसक्दा त्यसको प्रभाव केही दिनमै हराउने गरेको उनी बताउँछन्।

यसैबिच, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले चुँदीरम्घालाई अन्तर्राष्ट्रिय स्तरको साहित्यिक उद्यानका रूपमा विकास गर्ने महत्त्वाकाङ्क्षी योजना कार्यान्वयनको चरणमा पुगेको बताएका छन्। यसका लागि सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि २४ करोड रुपैयाँभन्दा बढी बजेट सुनिश्चित गरिसकेको उनले जानकारी दिए। 

प्रमुख त्रिपाठीले भने, ‘हामी चुँदीरम्घालाई केवल स्मारक स्थलमा सीमित राख्न चाहँदैनौँ।’ यसलाई साहित्यिक पर्यटनको केन्द्र र सप्तधामका रूपमा विकास गर्ने लक्ष्य राखिएकाले बजेट सुनिश्चित भएसँगै अब निर्माण कार्यले गति लिने उनले स्पष्ट पारे।

गुरुयोजनाअनुसार नगरपालिकाले ४३५ रोपनी जग्गा अधिग्रहण गरिसकेको छ, जहाँ बहुआयामिक साहित्यिक संरचना निर्माण गरिनेछ। चुँदीरम्घाको उत्तरतर्फ रम्घाडाँडामा परम्परागत गोलघर शैलीको भानु भवन निर्माण हुनेछ। उक्त भवनभित्र आदिकवि भानुभक्तको जीवन, साहित्यिक योगदान र ऐतिहासिक सामग्रीलाई चित्र, अभिलेख तथा प्रदर्शनीमार्फत प्रस्तुत गरिनेछ। त्यसैगरी भवनमाथि ५४ फिट अग्लो पलेटी मारेर बसेको आदिकवि भानुभक्त आचार्यको विशाल प्रतिमा निर्माण गर्ने योजना छ, जुन चुँदीरम्घाको प्रमुख आकर्षण बन्ने विश्वास गरिएको छ।

गुरुयोजनामा नेपालका सातै प्रदेशका भाषा, साहित्य र संस्कृतिको प्रतिनिधित्व हुने मूर्तिवाटिका निर्माण गर्ने योजना पनि समेटिएको छ। त्यहाँ विभिन्न साहित्यिक व्यक्तित्वका प्रतिमा स्थापना गरिनेछ। साथै भानु साहित्यिक ग्राम, भानुबस्ती, भानु प्रज्ञा भवन, वनस्पति उद्यान, वनभोजस्थल र पार्किङ क्षेत्र लगायतका संरचना निर्माण गरिनेछ। यससँगै सप्तधाम निर्माण, चुँदीरम्घादेखि शिखरकटेरीसम्मको सडक स्तरोन्नति तथा सुविधासम्पन्न सिँढी निर्माण गर्ने योजना पनि अघि बढाइएको छ। यी संरचनाले चुँदीरम्घालाई धार्मिक, सांस्कृतिक र साहित्यिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

यो योजना घोषणा मात्रै नभएर समयमै कार्यान्वयन हुनु अझ महत्त्वपूर्ण रहेको स्थानीय बताउँछन्। गुरुयोजना पूरा भए चुँदीरम्घामा वर्षभर पर्यटक, साहित्यकार र अध्ययन अनुसन्धान गर्नेहरूको आवागमन बढ्ने स्थानीय शङ्कर रानाभाटले बताए। त्यसले स्थानीय रोजगारी, पर्यटन व्यवसाय र आर्थिक गतिविधिलाई समेत नयाँ गति दिने विश्वास गरिएको छ। रासस

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update