Khabar Out
राष्ट्रियसभा बस्दै : विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथि मन्त्रीले जवाफ दिने

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज मध्याह्न १२:१५ बजे बस्ने भएको छ। बैठकमा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकसँग सम्बन्धित विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय गरिएको छ ।

आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित बजेट शीर्षकहरूमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन् ।

त्यसैगरी, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा राष्ट्रिय योजना आयोगको सचिवालयसँग सम्बन्धित बजेट शीर्षकमा उठेका प्रश्नहरूको पनि सम्बन्धित मन्त्रीहरूले स्पष्टीकरण प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि दर्ता भएका खर्च कटौती प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिनेछ। यससँगै आगामी आर्थिक वर्षको बजेटमाथिको छलफललाई निष्कर्षतर्फ लैजाने संसदीय प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २३, २०८३  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update