Khabar Out
गैँडाकोटमा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन् ।

गैँडाकोट नगरपालिका–९, हनुमान मन्दिरनजिक सोमबार (चैत १६) बिहान नेपालगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको लुप्र०१–००१ख ०९१० नम्बरको बसले गैँडाकोटबाट भेडाबारीतर्फ जाँदै गरेको बाप्र०१–०२८च ५००४ नम्बरको पिकअप भ्यान र सोही दिशातर्फ जाँदै गरेको बा३ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

दुर्घटनामा ट्रक चालक रामेछापको खाँडादेवी गाउँपालिका–४ निवासी ३२ वर्षीय इन्द्र तामाङ, पिकअप चालक चितवनको भरतपुर महानगरपालिका–१२ निवासी ३३ वर्षीय दर्शन काप्री र बस चालक बाँके नेपालगन्ज उपमहानगरपालिका–२० निवासी ४१ वर्षीय मोहनसिंह बलामी मगर घाइते भएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

त्यसैगरी, बसमा सवार अन्य नौ यात्रु पनि सामान्य घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि चितवन लगिएको छ । हाल यातायात सञ्चालन सामान्य अवस्थामा आएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update