Khabar Out
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान फरार

धनगढी । कैलालीको धनगढीमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका–७ देवहरियामा शनिबार राति ३० वर्षीया सरस्वती अवस्थी जोशीको हत्या भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार जोशीको हत्या उनका श्रीमान् डम्मराज जोशीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घरमै टाउकोमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा सरस्वती मृत फेला परेकी थिइन् ।

प्रहरीका अनुसार घटनापछि आरोपी डम्मराज जोशी फरार रहेका छन् । उनी पूर्व शिक्षकसमेत भएको बताइएको छ।

बुवाले आमाको हत्या गरेपछि छोराले छिमेकीलाई खबर गरेका थिए । त्यसपछि राति करिब १ बजेतिर प्रहरी घटनास्थल पुगेको थियो ।

सरस्वतीको शव पोष्टमार्टमकालागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update