कालीकोट । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जथाभावी पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटले पेट्रोलियम पदार्थको खुला बिक्री वितरणमा रोक लगाएको हो ।
निर्वाचन अवधिभर पेट्रोल, डिजेल र मट्टितेललगायत पेट्रोलियम पदार्थ बोतल, जर्किन वा अन्य खुला भाँडामा बिक्री वितरण गर्न रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताए ।
जिल्ला सुरक्षा समितिको बैठकअनुसार इन्धन बिक्री गर्ने सबै पेट्रोल पम्प तथा व्यवसायी अनिवार्य रूपमा सम्बन्धित निकायमा दर्ता भई सञ्चालन भएको हुनुपर्ने र दर्ता नभएका व्यक्ति वा संस्थाले पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्न नपाउने गरी रोक लगाइएको उनले जानकारी दिए ।
यसैगरी तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्री, कृत्रिम अभाव सिर्जना, अनावश्यक मौज्दात राख्ने वा निर्वाचन प्रयोजनबाहेक अन्य प्रयोजनका लागि दुरुपयोग गर्न नपाइने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
एम्बुलेन्स, अस्पताल, सुरक्षा निकाय तथा निर्वाचन प्रयोजनका सवारी साधन लगायत अत्यावश्यक सेवामा संलग्न सवारीसाधनलाई मात्र सम्बन्धित निकायको सिफारिस वा आधिकारिक परिचयपत्रका आधारमा आवश्यक परिमाणमा इन्धन उपलब्ध गराइने कार्यालयले जनाइएको छ ।
“उक्त व्यवस्था कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा नेपाल आयल निगमको समन्वयमा नियमित तथा आकस्मिक अनुगमन गरिनेछ । सुरक्षा समितिको निर्णय उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम जरिवाना, इजाजतपत्र निलम्वन वा खारेजसहित आवश्यक कानुनी कारबाही गरिने छ”, सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भने ।
पेट्रोलियम व्यवसायी, ढुवानी व्यवसायी तथा आमनागरिकलाई अनिवार्य रूपमा निर्णय पालना गर्न तथा कुनै शङ्कास्पद गतिविधि देखिएमा तत्काल प्रशासन वा सुरक्षा निकायमा जानकारी गराउन आग्रह गरिएको छ । रासस





