Khabar Out
संखुवासभा–ताप्लेजुङ सीमाक्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं । पूर्वी नेपालका संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्रमा आज बिहान मध्यम प्रकृतिको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार बिहान ३:१८ बजे ४.७ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।

केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास रहेको थियो। भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङका विभिन्न स्थानमा स्पष्ट रूपमा महसुस गरिएको स्थानीयवासीले बताएका छन्।

बिहानको समयमा अधिकांश नागरिक निद्रामा रहेका बेला भूकम्प गएपछि सर्वसाधारण त्रसित हुँदै घर बाहिर निस्किएका थिए। केहीबेरसम्म सर्वसाधारणमा त्रासको अवस्था देखिएको थियो।

यद्यपि, प्रारम्भिक विवरणअनुसार हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको सूचना प्राप्त नभएको सम्बन्धित जिल्लाका सुरक्षा निकायले जनाएका छन्। थप विवरण संकलनको कार्य जारी रहेको बताइएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update